भगवती खड्का ‘युनिका’लाई ‘रेस्लर’ भन्दा गर्व लाग्छ । भगवती नेपालको पहिलो महिला रेस्लर हुन् । तर, उनको परिचय यतिमै सीमित छैन । कलाकार बन्ने लक्ष्यले २०६४ सालतिर सोलुबाट काठमाडौं टेकेकी भगवतीले थुप्रै फिल्ममा खलपात्रको रुपमा अभिनय गरेकी छन् । ‘प्रतिकार’, ‘हवल्दार सुन्तली’, ‘रामप्यारी’जस्ता फिल्ममा भिलेन भूमिका देखिएकी भगवती गायिका पनि हुन् । तर, भगवतीको लक्ष्यचाहिँ ‘डब्लूडब्लूई’सम्म पुग्नु छ । एफएफडब्लू ‘त्रिपल थ्रेट म्याच’जस्ता अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता जितिसकेकी भगवती ‘नेपाल महिला रेस्लिङ फाउण्डेशन’की संस्थापक अध्यक्ष हुन् । उक्त फाउण्डेशनमा हाल ४५ जना महिला रेस्लर छन् । भारोत्तोलनका खेलाडीसमेत रहेकी भगवतीसँग एमपी सुब्बाको जम्काभेट :
रेस्लिङमा कसरी रुची जाग्यो ?
रेस्लर बन्छु भनेर सोचेकै थिएन । कलाकार बन्न काठमाडौं आएकी हुँ । राजेश हमाल भन्नेवित्तिकै हुरुक्कै हुन्थेँ । उहाँ मेरो आइडल हुनुहुन्छ । तर, भन्नेवित्तिकै कलाकार हुने कुरा भएन । त्यसैले पद्यमकन्या क्याम्पस पढ्दै गर्दा भारोत्तोलनको ट्रेनिङ लिएँ । ०६५ सालको कुरा हो । त्यो बेला १३५ केजी तौल समूहमा प्रथम भएँ । त्यसपछि रेस्लिङमा रुची बढ्न थालेको हो ।
कलाकार बन्न छाडेर रेस्लिङतिर किन ?
कलाकारिता छोडेकी छैन । कलेज पढ्दै गर्दा फिल्ममा अभिनय गर्न थालेकी हुँ । अहिले पनि गरिरहेकी छु । थुप्रै नेपाली फिल्ममा खलपात्र भूमिकामा काम गरेकी छु । बलिउड कलाकार शक्ति कपूरसँग पनि काम गरेकी छु । फिल्म ‘प्रतिकार’मा शक्ति कपूरको सहायक भएर अभिनय गरे ।
खलपात्र नै किन रोज्नुभयो ?
म जस्तो केटी हिरोइन हुन सुहाउँदैन । अर्को कुरा, म भारोत्तोलन र रेस्लर खेलाडी हुँ । हेर्दै भिलेन जस्तो छु रे ! आफू सुहाउँदो भूमिका गर्दा भिलेन भएँ ।
भिलेन हुन गाह्रो हुन्न ?
गाह्रै छ । हिरोदेखि हिरोइनसम्मको मुक्का खानुपर्छ । सुरु सुरुमा फाइट गर्नु निकै गाह्रो भयो । तरिका जानिएन भने फाइटको दृश्य गर्दा दुर्घटना पनि हुनसक्छ । त्यसैले प्राटिक्स गर्नु आवश्यक छ ।
कति वटा फिल्म अभिनय गर्नुभयो ?
फिचर फिल्म मात्रै एक दर्जन बढी गरेकी छु । ३०/३५ वटा टेलिफिल्म भयो होला । सन्तोष पन्तको ‘हिजोआजका कुरा’देखि ‘मेरी बास्सै’सम्ममा अभिनय गरेकी छु । मेरो भूमिका भनेको भिलेन नै हो ।
रेस्लिङलाई प्राथमिकता हो ?
हो, दुःख गरेर रेस्लिङ संस्था खोलेकी छु । नेपालमा महिला रेस्लर उत्पादन गरौँ भन्ने उद्देश्यले २०७१÷०७२ मा ‘नेपाल महिला रेस्लिङ फाउण्डेशन’ दर्ता गरेँ । त्यो बेला मसँग पैसा थिएन । औँठी बेचेर संस्था दर्ता गरेकी हुँ । आफूले जन्माएको संस्थालाई बचाउन र रेस्लिङबाट नेपाललाई विश्वमा चिनाउने उद्देश्य छ । त्यसैले रेस्लिङका लागि ज्यान दिएर लागेकी छु ।
नेपालमा महिला रेस्लर कति छन् ?
अहिलेसम्म ३५० जनालाई टे«निङ दिएकी छु । त्यसमध्ये ४५ जनाले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दै आएका छन् । केही खेलाडीको भविष्य देखेकी छु । जसले भोलिका दिनमा अन्तर्राष्ट्रिय स्टेजमा पहलमानी देखाउँनेछन् ।
अन्तर्राष्ट्रिय खेलाडीसँग भिड्नु भएको छ ?
थुप्रैसँग भिडेकी छु । जापान, बंगलादेश, भारत, थाइल्याण्डलगायतका रेस्लरसँग भिडेकी छु । भारतमा भएको ‘एफएफडब्लू’अन्र्तगत त्रिपल थ्रेट म्याच जितेकी छु ।
ट्रेनिङ कहाँ लिनुभयो ?
नेपालमै ट्रेनिङ लिएकी हुँ । सुरुमा भारोत्तोलनको टे«निङ लिएँ । त्यसपछि हिमालयन टाइगरसँग रेस्लिङ सिके ।
रेस्लिङको ट्रेनिङ कतिको गाह्रो छ ?
टेट्रेनिङ मात्र होइन, प्रतिस्पर्धा गर्नु पनि उत्तिकै गाह्रो छ । तरिका मिलेन भने मुन्टो बाँचिन्छ । ढाड सड्किने र हात मड्किनेको हिसाब किताब नै हुँदैन । हेर्दा जति रमाइलो हुन्छ, उत्तिकै जोखिम पनि छ ।
फाउण्डेशन कसरी चल्दैछ ?
खेल आयोजना गर्दा स्पोन्सर आउँछ । अहिलेसम्म ५०/६० वटा प्रतिस्पर्धा आयोजना गरेँ । त्यही खेलमा आएको स्पोन्सरले अहिलेसम्म चलिरहेको छ । सरकारले अहिलेसम्म महिला रेस्लिङका लागि केही गरेको छैन । बल्ल हलका लागि जग्गा दिने भएको छ ।
तपाईंको लक्ष्यचाहिँ के हो ?
डब्लूडब्लूईमा जाने । डब्लूडब्लूईमा संसारका रेस्लर हस्तीहरु भिड्न आउँछन् । त्यो स्टेजमा नेपालको प्रतिनिधित्व गर्दै भीड्ने मेरो लक्ष्य छ ।
घरजम गर्ने सोच बनाउनुभएको छैन ?
भर्खरै ३१ वर्षकी भएँ । ३५ वर्ष पुगेपछि घरजम बसाउने सोंच बनाएकी छु ।
प्रेम प्रस्ताव गर्नेहरु हिम्मतवाला होलान् है !
झट्ट हेर्नेहरुले प्रस्तावमै राख्न सक्दैनन् । तर, नजिक भएर जो बोल्न आउँछ उ मेरो साथी बन्छ । मेरो ज्यानमात्र डर लाग्दो हो । मन दयालु छ ।