काठमाडौं । राजश्व अनुसन्धान विभाग बुटवलले क्रिस्टल डिष्टिलरीको कार्यालयमा छापा मारेको छ । विभागको टोलीले शनिबार छापा मारी डिस्टिलरीका अकान्टेन्टको ल्पापटप बरामद गर्नुका साथै कार्यालय सिल गरेको छ ।
यसअघि २ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबर मूल्यको नक्कली स्टिकर भदौ ५ गते भैरहवाको डण्डा क्षेत्रबाट पक्राउ परेको थियो । भारतबाट भैरहवाको क्रिस्टल डिष्टिलरीले उक्त नक्कली स्टिकर लु. २ च. २५० नम्बरको गाडीमा ल्याएर भैरहवा दरखसस्थित एक घरमा लुकाएर राखेको सूचना सशस्त्र प्रहरी बल डण्डाका प्रमुख कृष्णप्रसाद अर्याले पाएका थिए ।
उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बलले लु. २ च. २५० नम्बरको गाडीसहित ८० रोल अन्तःशुल्क लेखिएको नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अलिलाई पक्राउ गरेका थिए ।
आफ्नो पोल खुल्ने डरले उक्त नक्कली स्टिकर कुन मदिरा उद्योगले प्रयोग गर्न ल्याएको हो भन्ने कुरा राजस्व अनुसन्धान विभागका प्रमुख राजन बिसीले अझै सार्वजनिक गरेका छैनन् ।
स्रोतका अनुसार उक्त नक्कली स्टिकरका मालिक फुलसिंह क्षेत्रीलाई जोगाउन राजस्व अनुसन्धान विभागका प्रमुख बिसीले पक्राउ परेका दुई जनालाई समेत तारेखमा छाडेका थिए । यस घटनाबाट पनि नक्कली स्टिकर प्रकरणमा गिरी, अर्याल र क्षेत्रीको साँठगाँठ भएको देखिन्छ ।
फुलसिंह क्षेत्री पटक–पटक नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्ति हुन् । उनले यसपटक आफू जोगिन रेन्बो डिष्टिलरीमा प्रयोग हुने अन्तःशुल्कको सिरियल नम्बर प्रयोग गरेर नक्कली स्टिकर भित्र्याएका थिए । डिस्टिलरीका प्रमुख क्षेत्रीले भने यसमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । उनले आफ्नो संलग्नता नरहेको बताए पनि यो प्रकृयामा क्षेत्रीकै संलग्नता रहेको भन्दै अनुसन्धान अघि बढेको छ ।
यस विषयमा बुटवल राजस्व अनुसन्धान विभागले फितलो अनुसन्धान गरेर फुलसिंह क्षेत्रीलाई जोगाउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलको निर्देशनमा भैरहवा आन्तरिक राजस्व कार्यालयले अनुसन्धान थालेको हो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाले रुपन्देही, कपिलवस्तु र नवलपरासीको बजार अनुगमन गर्दा नवलपरासीको दिक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टारसोफी’ ब्राण्डका ५० कार्टुनमध्ये २१ कार्टुन नक्कली स्टिकर टाँसिएको पाइएको घटनाले पनि उक्त नक्कली स्टिकर क्रिष्टल डिष्टिलरीकै भएको पुष्टि हुन्छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलले अन्तःशुल्क स्टिकर चोरीजस्तो मुद्दामा संलग्न व्यक्तिलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर जेल चलान गर्ने कुरा दृष्टि न्यूजलाई बताए ।