Logo
Logo

प्रचण्ड ‘मनोदशा’ र माओवादी भविष्य


अर्जुन आचार्य

21.8k
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाइसीएलको केन्द्रीय समितिलाई सम्बोधन गर्दै भने– ‘एमाले जस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य छैन ।’ उनले थपे, ‘क्रान्ति गर्छौं पनि भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ ।’ उनले १८औं शताब्दीमा माक्र्स र एंगेल्सले आफैंले बनाएको कम्युनिष्ट इन्टरनेसनलाई विघटन गरेर अध्ययन, अनुसन्धानतिर लागेको र पूँजीलाई पूर्णता दिएको प्रसंग पनि सोही कार्यक्रममा सुनाए । वाइसीएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा अर्को कुरा पनि भनेका थिए– ‘मलाई राजनीतिबाट विदा लिएर संस्मरण लेख्न मन छ । तर, त्यो भनेको भोलि नै चाहिँ होइन ।’

यो प्रसङ्ग उठाउनुको कारण प्रचण्डको अहिलेको ‘मनोदशा’ केलाउनु हो । प्रचण्ड आफैंमा एउटा महत्वकांक्षी नेता हुन् । तर, जति महत्वकांक्षी भएपनि उनी मानिस हुन्, उनको उमेर, समय र यथास्थितिवादी राजनीतिले उनको महत्वकांक्षालाई विस्तारै ‘ब्रेक’ लगाउँदैछ । त्यसकारण पनि उनी भन्दैछन्– ‘अब म विदा लिने तयारीमा छु ।’ तर, फेरि अर्को कुरा पनि भन्छन्, ‘त्यो भनेको अहिले नै होइन ।’ प्रचण्डलाई एकताका ‘लेनिन’ बन्ने खुब ठूलो सपना थियो । अहिले प्रचण्डको मानसपटलमा माक्र्स घुमिरहेको छ । मार्क्स जस्तै पुस्तक लेख्ने तिर पुर्याएको जस्तो लाग्छ ।


प्रचण्डको एक खाले मनोविज्ञान अब धपेडिमाभन्दा आरामदायी शान्त ठाउँमा बसेर अध्ययन गर्ने, लेखनमा लाग्ने जस्तो देखिन्छ । फेरि अर्को मनोविज्ञान तथा उनको व्यवहार र राजनीतिले उनलाई सक्रिय हुन अभिप्रेरित गरिरहन्छ । शक्तिको लोभ, मोह र महत्वाकांक्षाले उनलाई आरामदायी ठाउँमा बसेर अध्ययन गर्ने ठाउँ दिँदैन । प्रचण्डका लागि विरोधीहरुले गर्ने अनेक षड्यन्त्र र दाउपेचको प्रतिवाद गर्नुपर्ने दायित्व आफैले बोक्नु छ ।

जनयुद्धमा भएको हजारौंको बलिदानी, अनगिन्ति नोक्सानीदेखि प्राप्त उपलब्धीको रक्षासम्मसबै जिम्मा उनै प्रचण्डले लिनुपर्ने अर्को परिस्थिति छ । प्रचण्डले विश्राम लिँदा के हुन्छ ? प्रचण्डले विश्राम लिए माओवादी आन्दोलन अगाडि बढ्छ ? या बढ्दैन ? यसबारे बहस भएको छैन । तर, मेरो विचारमा प्रचण्डले अब विश्राम लिँदा माओवादी आन्दोलन कमजोर हुँदैन । नयाँ ढंगले पुनःगठन हुन्छ । दोस्रो पुस्ताका नेताले गर्न नसके तेस्रो पुस्ता पार्टी हाँक्न आट गर्नेछन् । तर, प्रचण्ड मनाभावले त्यसो भन्दैन । उनलाई लाग्छ म नभए ‘बर्बाद’ हुन्छ ।

प्रचण्ड मनोभावमा क्रान्तिकारीता देखिन्छ । तर, त्यो भन्दा धेरै वर्तमान संसदीय व्यवस्थाकै आडमा सत्ताको नेतृत्व गर्ने अनोकांक्षा छ । एउटा मनोभावले भन्छ ‘समाजवाद ।’ अर्को मनोभावले भन्छ ‘ त्यो यात्रा कठिन छ ।’ प्रचण्ड भनोभावमा उब्जाउने प्रश्नै प्रश्न छन् । जस्तोः के अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्थाको एजेण्डा लिएर जाने हो ? पार्टीको नाम माओवादी राखेरै जाने हो ? मार्गदर्शक सिद्धान्त माओवाद नै राख्ने हो ? माधव नेपालको पार्टीसँग मिलेर जाने हो कि त्यसमा विप्लव, वैद्य पनि अटाउने हो ? उपेन्द्र यादव र बाबुराम भट्टराईसँग कसरी एकता होला ? पार्टी नाममा ‘कम्युनिष्ट’ नै राख्ने हो कि त्यो पनि हटाउने हो ?

आगामी निर्वाचनमा ठूलो बन्न कम्युनिष्ट छोडौं एमालेले कब्जा गर्ने डर । कम्युनिष्ट नै राखौं बाबुराम उपेन्द्रसँग एकता नहुने डर । यथास्थितिमा जाऔं विप्लव, वैद्यले पनि मोर्चाबन्दीसम्म नगर्ने डर, एक्लै जाऔं पार्टी सानो हुने डर । काँग्रेससँग मिलेर जाऔं विचार शून्यता हुने डर । यो डरैडरको मनोदशाले प्रचण्ड घेरिएको देखिन्छ ।

नेकपाबाट एमाले र माओवादी छुट्टीएपछि प्रचण्डले क्रान्तिकारी हुनु परेको छ । उनले पार्टी कार्यालयमा आफ्ना सांसदहरुले मन्त्रीको बार्गेनिङ गरेको विषय सार्वजनिक गरिदिनु परेको छ । कहिले पार्टी राम्रो भएन भन्दै आम कार्यकर्ता पंक्तिमा विघटनको त्रास देखाउनु परेको छ । तर, पार्टी निर्माणको कदम भने ठोस ढंगले चालेको देखिँदैन । प्रचण्डले अगाडि बढ्न चाहेको हो भने गम्भीर ढंगले सोही अनुसारका कार्यक्रमहरु अगाडि बढाउनु आवश्यक छ ।

अबका एजेण्डा के हुनसक्छ ?
विचारको बहसमा जोड दिने । नेतृत्व हस्तान्तरणको उपर्युक्त समय र विधि स्पष्ट गर्ने । रणनीतिक लक्ष्य समाजवाद हो, त्यसमा पुग्ने कार्यनीति स्पष्ट गर्ने । सिद्धान्तलाई व्यवहारमा लागू गर्ने, सत्ता र शक्तिको मोह छोड्ने । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डामा फर्किने । जनताको घरदैलोमा जाने । भ्रष्टाचारविरुद्ध निर्मम बन्ने । जनजीविका र आर्थिक मुद्दामा केन्द्रीत हुने । स्वास्थ्य, शिक्षालाई पूर्णतः राज्यको नियन्त्रणमा ल्याएर निःशुल्क गर्ने । शिक्षाको विभेद्कारी व्यवस्था खारेज गर्ने । जग्गाको स्वामित्व अन्त्य गर्ने । महिला, दलित, जनजाति, मुस्लिमहरुको अधिकार सुनिश्चित गर्ने । राष्ट्रियताको मुद्दालाई नयाँ परिवेश अनुसार विश्लेषण गर्ने । अन्तराष्ट्रिय सम्बन्धलाई वर्तमान अवस्थाको विश्लेषण गरी सन्तुलित कुटनीति सम्बन्ध स्थापित गर्ने काम माओवादीकै नेतृत्वमा गर्नुपर्छ ।

उल्लेखित काम गर्न माओवादीले शक्ति सञ्चय गर्नुपर्छ । खास गरी माओवादी आन्दोलन १० वर्षे जनयुद्धकै कारण सम्भव भएको हो । त्यसबेला माओवादीसँग लोभ, मोह, इष्र्या, डाहा, इगो जस्ता कुनै पनि समस्या थिएनन् । त्यहाँ खासमा क्रान्तिकारी गति थियो । त्यसले आम जनतालाई जुरुक्कै उठाएको थियो । १० वर्षसम्मको जनतासँगको सामिप्यता र क्रान्तिकारी धक्काले जनआन्दोलन सफल भयो र गणतन्त्र स्थापना भयो ।

अब पनि माओवादीले १ कार्यकाल (५ वर्ष) सत्तामा नजाने र शक्ति सञ्चयको लागि कसरत गर्नुपर्छ । त्यसबीचमा क्रान्तिकारी स्पिडसहितको संगठन निर्माण र कम्युनिष्ट पार्टीहरुको व्यापक ध्रुवीकरण गर्ने । नयाँ नेतृत्व स्थापित गर्ने र अन्तिम धक्का दिने अवस्थामा पुग्ने हो भने पुनः माओवादी आन्दोलन ०६४ सालको ठाउँमा पुग्ने देखिन्छ । होइन भने केही दर्जन सांसद लिएर संसद वा सरकारमा जाने, बार्गेनिङ गरेर मन्त्री पड्काउने, अवसरवादी र टालटुले पाराले आफू वरिपरि सत्ता घुमाइरहने मात्रै हो भने प्रचण्डले माओवादी आन्दोलन छाडेर ‘संस्मरण लेखन’मै समय खर्चनु ठिक हुन्छ ।

लेखक : विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्