काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि ‘किर्ते कसुर’ मा मुद्दा चलाउन सरकार नै बाधक बनेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डेढ वर्षदेखि गरेको अनुसन्धान टुंगोमा पुगे पनि सरकारकै अनिच्छाका कारण आरोपितलाई पक्राउ गरेर मुद्दा दर्ता प्रक्रियामा जान नसकेको हो ।
सरकारी कागजात किर्तेरजालसाजी गरी ललिता निवासको जग्गा हडपेको प्रकरण अनुसन्धान थालेयता नेपाल प्रहरीमा आईजीपी तीन जना र सीआईबी प्रमुख पनि तीनै जना बदलिएका छन् । मुद्दा दर्ताका लागि निर्णायक मानिने महान्यायाधिवक्ता पनि तीनै जना फेरिएका छन् ।
अनुसन्धान अघि बढाउन निर्देशन दिने तत्कालीन गृहसचिव प्रेमकुमार राई अवकाशपछि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख छन् । गृहमा अरू दुई सचिव फेरिएका छन् ।
प्रधानमन्त्री पनि यो अवधिमा दुई जना भइसके । तर, मुद्दाको अनुसन्धान अघि बढाउन न राजनीतिक तहबाट तदारुकता देखाइयो न गृह प्रशासन र सीआईबीबाटै । अब अनुसन्धानको म्याद गुज्रिने समय चार महिना छ । हालसम्म आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढेको छैन ।
महान्यायाधिवक्ता खम्बबहादुर खातीले यसबारे सीआईबीसँग अनौपचारिक कुराकानी भएको र विस्तृत रूपमा प्रतिवेदन हेर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले प्रतिवेदन हेरेपछि मुद्दा चल्नेरनचल्नेलगायतका विषयवस्तुबारे बोल्ने बताए ।
‘एक महिनाअघि यस विषयमा सीआईबीका अधिकारीसँग अनौपचारिक कुराकानी भएको हो तर अनुसन्धान के–कसरी भएको छ भन्ने हेर्न बाँकी छ,’ उनले भने, ‘अनुसन्धानको म्यादबारे सीआईबी पनि जानकार नै होला, त्यसअघि नै हामीलाई बुझाउनुहोला नि अनुसन्धान प्रतिवेदन ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।