काठमाडौं । सरकारले ल्याएको प्रतिस्थापन विधेयकले स्वदेशभित्रै डन्डी उत्पादनलाई प्रोत्साहन गर्ने व्यवस्था रहेको नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालले बताएका छन् । सरकारले ल्याएको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन सहयोग गर्ने उनको भनाइ छ ।
एसोसिएसनले सरकारको उक्त कदम स्वागतयोग्य रहेको तर्क गर्दै सोमबार सोमबार विज्ञप्तिमा भनिएको, ‘यसबाट ६ अर्ब रुपैयाँ बराबरको लगानी थपिनेछ । थप ३ हजारले रोजगारी पाउनेछन् । लगानी थपिएसँगै उद्योगको क्षमता विस्तार हुने र तत्कालै २२० मेगावाट विद्युत् खपत हुने जनाएको छ । ’
बिलेट उत्पादन गर्ने ठूला उद्योगले तत्काल उत्पादन क्षमता बढाउनेसमेत एसोसिएसनले विज्ञप्तिमा भनेको छ । सरकारको उक्त व्यवस्था लागू भए डन्डीको मूल्य प्रतिकिलो तत्काल ३ रुपैयाँसम्म घट्न सक्ने एसोसिएसनले बताएको छ ।
‘विधेयकमा आएका नयाँ व्यवस्थाले स्वदेशी पुँजी र सीपमार्फत देशभित्र थप ६ अर्ब लगानी रोलिङ मिल्स तथा डन्डी उद्योगमा थपिने देखिन्छ,’ अग्रवालले भने, ‘यसले यहाँ उत्पादन भइरहेको विद्युत्को खपतलाई पनि सघाउँछ ।’ आउने दिनमा यस्ता उद्योगले नयाँ आयोजनाबाट उत्पादन हुने तीन हजार मेगावाट बिजुली खपत गर्न सहयोग पु¥याउने उनले सुनाए ।
अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार संसद्मा पेस गरेको अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा पत्रु (स्कार्प) पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ स्पञ्ज आइरन आयात गर्दा शून्य प्रतिशत भन्सार र अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाले सोझै विलेट आयात गर्दा भने ४.७५ प्रतिशत भन्सार लाग्ने हुँदा प्रतिटन १ हजार ६ सय ५० बाट बढेर २ हजार ५ सय रुपैयाँ लाग्ने भएको छ । एसोसिएसनकै सदस्यहरुले भने सोमबार पत्रकार सम्मोलन गर्दै सरकारको यस्तो व्यवस्थाले बिलेट आयात गरी फलामको डन्डी उत्पादन गर्ने उद्योग बन्द हुने बताइसकेका छन् ।
विलेट आयात गरेर फलामे छड उत्पादन गर्ने उद्योगहरुले पनि क्रमशः आफैँ उद्योगहरुलाई ‘अपग्रेड’ गरेर स्कार्प आइरन उत्पादन गरे त्यसले बढ्दो व्यापार घाटा कम गर्ने थियो । उद्योगीहरुले आफ्नो हितभन्दा माथि राष्ट्रको हितलाई ध्यान राख्नुपर्छ । डण्डी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने जिम्मा सबै फलामे छड उद्योगले लिनुपर्छ ।