Logo
Logo

जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित


819
Shares

धनगढी । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बुधबार एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो ।

पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव यामकुमारी खतिवडा (वास्कोटा)ले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।

मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको कार्यको मूल्याकंन गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले १५ औं मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा सम्मानित गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक वर्षमा मानब बेचबिखन तथा ओसारपसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत चलाएको थियो ।

त्यसैगरी उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।

सोही अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न संघसंस्थासंगको सहयोग र समन्वयमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सीमानाकाबाट उद्दार गरी परिवारमा फर्काईएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारी निजहरुको उद्दार तथा पारिवारिक पुर्नमिलन गराएको थियो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नुका साथै शान्ति पुनरस्थापना गृह, माईती नेपाल जस्ता संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी सीमा निगरानी, उद्दार, राहत, निशुल्क कानुनी परामर्श जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्