काडमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच नै चुनावी गठबन्धन बन्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा पार्टी कार्यालय उद्दघाटन गर्दै अध्याक्ष नेपालले वर्तमान सत्ता गठबन्धनबीच नै आगामी निर्वाचनमा चुनावी गठबन्धन बन्ने भएकाले गठबन्धनलाई अझ बलियो बनाइने बताए ।
अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेलमा आफ्नो पार्टी चुनावमा होमिने भन्दै अहिले कुनै पनि पार्टीसँग पार्टी एकता नगर्ने प्रष्ट पारेका छन् । नवीन सोंच र मान्यताका साथ नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम दिन लागिएको भन्दै अध्याक्ष नेपालले भने, ‘सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई तोडेर जनतामाझ नयाँ छवि देखाउने छौं ।’
उनले भने, ‘हामी यथार्थ कुरा बोल्ने छौं, सपनाको तरेली, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौं ।’
लोकतान्त्रिक चरित्र र संस्कारलाई अवलम्बन गर्दै समाजवादतर्फको यात्रामा आफूहरु निरन्तर अघि बढ्ने भएकाले सामाजिक न्याय, समानता र समृद्धिका लागि अघि बढ्दै विभिन्न आन्दोलनका उपलब्धिको रक्षाका लागि पार्टीलाई उभ्याउने उनले बताए ।