काठमाडौं । सरकारको लापरबाहीका कारण विदेशबाट फर्कने नेपालीले ठूलो सास्ती बेहोर्नु परेको छ । विदेशबाट फर्कदा पहुँचवालाहरु सहजै घर जान पाउँछन् भने वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरु भने १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्छ ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको तथ्याङकअनुसार दैनिक करिब दुई हजार नेपाली विदेशबाट फर्कने गरेका छन् । जसमध्ये कतिपय आकस्मिक कामले आउने गर्दछन् । विदेशबाट नेपाल आउँदा विदेशमै सिसीएमसीको फर्म भर्नुपर्छ । परिवारको सदस्यको मृत्यु भएर आउँदा समेत मृत्यु भएको प्रमाणित कागजपत्र पेश गर्नुपर्छ नत्र १० दिन होटलमा क्वारेन्टाइन बस्नुपर्ने अवस्था छ । परिवारको सदस्यको मृत्यु भएको प्रमाणित हुने गरी स्थानीय तहबाट प्रमाणित गराएर विमानस्थलमा कागजपत्र बुझाए मात्र घर जान पाइन्छ । पीडाको समयमा सरकारको यस्तो नियमले झन् पीडा दिने गरेको पीडितहरुको गुनासो छ । दुर्गम घर भएकाहरुलाई यस्ता कागजपत्र जुटाउनै समस्या हुने गरेको छ ।
त्यस्तै परिवारका सदस्य बिरामी भएर आउँदा पनि त्यसको प्रमाणित गराउने कागजपत्र चाहिन्छ । आफन्त अस्पतालमा भर्ना भएको प्रमाणित कागज विमानस्थलस्थित हेल्थ डेस्कलाई बुझाउन सके मात्र उनीहरुलाई घर जान दिने गरिएको छ । नत्र १० दिन होटल क्वारेन्टाइनमा बस्नुपर्छ । यस्तो नियम सरकारले बनाएको र त्यसको कार्यान्वायन गर्ने आफुहरुको दायित्व भएको विमानस्थलस्थित अध्यागमन प्रमुख सुशिल बैद्य बताउँछन् ।
तर, पहुँचवाला बस्नुपर्दैन क्वारेन्टाइन
पहुँचवाला व्यक्तिहरु भने सामान्य अवस्थामा पनि क्वारेन्टाइन बस्नुपर्देन । वडा कार्यालयले होम क्वारेन्टाइनमा बस्न दिने भनेर सहमतिका आधारमा बनाइएको पत्रका आधारमा पहुँचवालाहरुलाई घर जान दिने गरिएको छ । वडा कार्यालयले पनि पहुँच भएकालाई मात्र यस्तो पत्र बनाइदिने गरेको छ ।
क्वारेन्टाइनमा पनि चर्काे शुल्क
अर्काे देशबाट नेपाल फर्कदा ७२ घन्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । त्यसबाहेक पनि नेपालमा आएर महंगा होटलमा १० दिन क्वारेन्टाइन बस्नुपर्छ ।
सरकारले निश्चित होटललाई मात्र क्वारेन्टाइन तोकेको छ । जसमा चर्काे शुल्क राखिएको छ । वैदेशिक रोजगारबाट फर्किएका उनीहरुले मोटो रकम यसरी होटल क्वारेन्टाइनमै खर्च गर्नुपर्ने हुन्छ । देशमा लकडाउन समेत खुला गरिसकेको अवस्थामा यसरी होटल क्वारेन्टाइन अनिवार्य गर्नु उनीहरुमाथि अन्याय भएको उनीहरुको गुनासो छ । पूर्ण खोप लगाएकाको हकमा भने क्वारेन्टाइन बस्न नपर्ने निर्णय सिसीएमसीको छ ।
सिसिएमसीले पनि अब विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न नपर्ने निष्कर्ष निकालिसकेको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष हुने निर्देशक समितिको बैठक बस्न नसक्दा त्यससम्बन्धि निर्णय हुन सकेको छैन । जसकारण सर्वसाधरणले दुःख पाउँदै आएका छन् ।