विराटनगर । मोरङस्थित विराटनगर महानगरपालिकाको ११ नम्बर वडाले आफ्नो प्रगतिसहितको समीक्षा प्रतिवेदनमा जन्मदर्ता र विवाहको तथ्यांक उल्लेख गरेको छ ।
वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले सार्वजनिक गरेको उक्त उपलब्धी समीक्षा प्रतिवेदनमा १ वर्षको अवधिमा ७९ जोडीले विवाह दर्ता गरेको उल्लेख छ । यस्तै २३६ जनाले जन्मदर्ता गराएको र ३३ परिवारले बसाई सरेर वडामा आएको, २५ घरपरिवार बसाइँ सरेको र ६ जोडिले सम्बन्ध विच्छेद गरेको उल्लेख छ ।
यस्तै वडाले चार वर्षमा ८ वटा सडकको २ किलोमिटर क्षेत्र कालोपत्रे गरेको छ । वडा कार्यालयले शुक्रबार गरेको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक समारोहमा अध्यक्ष नेउपानेले कोरोना महामारीमा पनि विकास निर्माणलाई वडाले तीव्रता दिएको बताए ।
२२ साना सडक तथा गल्ली ढलान र १७ वटा कल्भर्ट निर्माण गरिएको अध्यक्ष नेउपानेले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । साना तथा गल्लीमा बकेट इँटाद्वारा निर्मित, नाला तथा गार्भेलसमेत गरिएको अध्यक्ष नेउपानेले बताए ।
उनले कोरोना महामारीमा १२ सय विपन्न घरपरिवारलाई राहत वितरण गर्नुका साथै ३ हजार ४६४ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिए । उनले अब १८ वर्षभन्दा माथिका ५ हजार जनालाई खोप लगाउन बाँकी रहेको उल्लेख गरे ।
वडामा निर्वाचित भएर आएपछि २० जनालाई महिलालाई सिलाई सिलाई कटाइ तालिमसमेत दिएको नेउपानेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । जनपथ मावि र अरुणोदय आधारभूत विद्यालयलाई व्यवस्थापन सहयोग गर्नुका साथै दुर्गा मन्दिरमा रंगरोगनसहित टायल्स बिछ्याइएको, बसपार्कमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण, खुला दिसामुक्त वडा घोषणासमेत गरिएको नेउपानेले जानकारी दिए ।
वडा कार्यालयको नयाँ भवन निर्माण, ज्येष्ठ नागरिक वडा कार्यसमितिको भवन निर्माणका लागि जग्गा खरिद गरी भवन निर्माणको सुरुवात, वडाकै नमुनाका रुपमा स्वागत मार्ग निर्माण, बसपार्कको निर्माण सम्पन्न, विभिन्न साँघुरा गल्लीलाई विस्तार गरी सडक निर्माण गरिएकोलाई अध्यक्षले आफ्नो बितेको कार्यकालको उपलब्धिका रुपमा प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा स्थानीयले सडकमा छाडा छाडिएका चौपाया, फोहर व्यवस्थापनलगायतका विषयमा गुनासो राखेका थिए । समारोहमा महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सडकमा छाडा छाडिएका चौपाया नियन्त्रण गरी फोहर व्यवस्थापन तत्काल गर्ने प्रतिबद्धता जनाए । उनले नगर सौन्दर्यकरणका लागि सबै नगरवासीलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्मा, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले वडाको विकासका लागि वडावासी पनि जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।
विराटनगरबाट प्रकाशित हाम्रो मत दैनिकबाट साभार