काठमाडौं । गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वाइल्ड देखिएको थियो ।
नेपालमा डेल्टा प्लससहित ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.१.६१७.१) पुष्टि भइसकेको छ । साउथ अफ्रिकन, ब्राजिलियन, कोलम्बियामा पाइएको नयाँ भेरिएन्ट भने नेपालमा पाइएको छैन । तर, मुलुकभित्रै नयाँ भेरिएन्ट विकसित हुन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । सीमानाकामा भइरहेको लापरबाहीले नयाँ भेरिएन्ट भित्रिने डर बाँकी नै रहेको विज्ञहरूको भनाइ छ ।
उनीहरूले छिमेकी मुलुक वा नयाँ भेरिएन्टको उद्गम मुलुकबाट आउनेमाथि निरन्तर कडा निगरानी गर्न सुझावसमेत दिए । विमानस्थललगायत विभिन्न प्रवेश बिन्दुवाट भित्रने व्यक्तिलाई हेल्थ डेस्क राखिने र तिनको एन्टिजेन परीक्षणलाई प्राथमिकतासाथ जिनोमिक सिक्वेन्सिङ गरी हेर्ने तयारी थालिएको डा. पौडेलले बताए । ‘तत्काल डेल्टा र डेल्टा प्लसबाहेक अन्य भेरिएन्ट नथपिए पनि प्रवेश बिन्दुबाट त्यो खतरा छ,’ उनले भने ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।