काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वको सरकारले जनभावना अनुसार नै काम गर्नुपर्ने बताएका छन् ।
गणेशमान सिंहको स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिह फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरुले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेकै कारण कांग्रेस नेतृत्वको सरकार बनेको भन्दै सरकारले जनताको भावना अनुसार काम गर्नुपर्ने बताएका हुन् ।
उनले गठबन्धन दलहरुबीच कुरा नमिल्दा मन्त्रिमण्डले पूर्णता पाउन नसकेको भन्दै छिटै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । नेता सिंहले पार्टीको १४औँ महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने दावी गरे । पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका स्थानमा बिधिबिधान अनुसार नै अधिवेशन हुनुपर्ने उनको धारणा छ ।
त्यस्तै, उनले महाधिवेशनमा साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागी निरन्तर छलफल भइरहेको जानकारी दिए । नेता सिंहले नेपालको राजनीतिमा गणेशमान सिंहले पुराएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा नेता सिंहलगायतका नेताहरुले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिउ । २०१७ सालमा शाही शासन सुरु भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगेकाले उनलाई लौहपुरुष पनि भनिन्छ । गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।