बुटवल । बुटवलको ज्योतिनगरमा भदौं दोस्रो साता आएको चुरेको पहिरो पीडितले अझै राहत पाउन नसकेको गुनासो गरेका छन् ।
वर्षासँगै आएको पहिरोले ज्योतिनगरमा १३ घर पुरिएका छन् भने १ सय ५० घर जोखिममा छन् । वर्षा हुँदै बस्तीमा जोखिम यथाव छ । यस क्षेत्रका वासिन्दामा त्रास कायमै छ ।
२८ वर्षदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका नेत्रलाल अधिकारी चाडपर्व नजिक आएपनि पहिरो पसेको बस्ती सफा नगरिएको भन्दै गुनासो गर्छन् । तीन तहमा सरकार भए पनि यहाँको वास्तविक समस्या बुझ्न नसकेको उनको गुनासो छ ।
ज्योतिनगर बस्तीमा गएको चुरे पहिरोले धेरै मानविय क्षति नभएपनि धेरै धनमालको क्षति भएको छ । पीडित गिरिराज अधिकारीको माग ठूलो छैन । सरकारले पीडितलाई राहतको व्यवस्था गरी पहिरो सफा गरिदेला भन्ने मात्र आशा छ । उनी भन्छन्– ‘सडकको पहिरो नहटाइँदा खानेपानीको पाइप र बिजुलीका तार जताततै फैलिएको छ । आवतजावतमै समस्या भएको छ ।’
वर्षा हुँदा यसक्षेत्रका घरहरूमा बाढी पस्ने समस्या आज पनि उस्तै छ । यस क्षेत्रमा पानीको मुल रहेकोले धाजा फाटेको जमिनमा पानी पर्नासाथ लेदो माटो बगेर बस्तीमा खस्दै आएको छ । जसकारण वस्ती नै त्रसित छन् ।
ज्योतिनगर बमघाटका स्थानीय बीरवहादुर कुमाल पहिरोबारे जनताको माग अहिलेसम्म सम्बोधन नभएकोले सरकारले केही गर्ला भन्ने आश नरहेको बताउँछन् । २०४७ सालदेखि यस क्षेत्रमा बस्दै आएका कुमाल स्पष्ट योजना बनाएर यहाँको समस्या समाधान माग गर्छन् ।
वर्षा हुँदा बस्तीमा लेदो आउन नरोकिने भएकाले अझै दर्जन बढी घरमा क्षती पुग्न सक्ने देखिन्छ । सरकारले यस क्षेत्रमा भएको क्षतिको स्पष्ट विवरण अझै सार्वजनिक गरेको छैन ।
पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा छन् । २०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो । ज्योतिनगरमा २०५५ साल भदौमा चुरे पहाड खसेपछि ५७ घर क्षतिग्रस्त भएको थियो ।
तस्बिर– दामोदर खनाल/बुटवल