काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले मात्रै आफूलाई विघटन गर्नुपर्ने बताएका छन् । शनिबार नयाँ बानेश्वरमा विधायन व्यवस्थापन समितिद्वारा आयोजित ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सभामुख सापकोटाले भने, ‘विघटनको सम्बन्धमा सुझाव आएको छ । तर, प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्रै गर्नुपर्छ ।’ उनले त्यो नै लोकतान्त्रिक हुने बताउँदै त्यो गर्दा जनताको सार्वभौमिक अधिकारको सम्मान हुने बताए ।
विधिवत् रुपमा प्रतिनिधि सभामा प्रस्ताव पेश गर्ने र राष्ट्रको आवश्यकता र जनताको चाहना नै विघटन रह्यो भने मात्रै विघटन गरिनुपर्ने व्यवस्था राखिनुपर्ने उनको जिकिर छ ।
कार्यक्रममा नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले प्रतिनिधिसभाबाट प्रस्ताव पारित गरेरमात्रै विघटन हुनुपर्ने प्रस्ताव राखेका थिए । उनले भने, ‘संसद्लाई संविधानको धारा ७६ बमोजिम विघटन गर्नुपरेको अवस्थामा प्रतिनिधि सभाबाट त्यस प्रयोजनका लागि प्रस्ताव पारित गरेपछि मात्रै विघटन हुन्छ भन्ने व्यवस्था राखिदिनुस् न संविधानमा । त्यसपछि प्रतिनिधिसभा विघटन हुने सम्भावना कम हुन्छ ।’