काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वतर्समान सरकारले सेटिङमा भन्सार छुट दिन अर्बौको चलखेल गरेको आरोप लगाएका छन् ।
शनिवार एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्बौ रकमको चलखेलमा भन्सार छुट दिने गरी करको दर तलमाथि गरिएको आरोप लगाएका हुन् ।
देउवा सरकारले सेटिङमा करको दर तलमाथि गरेको खुल्न थालेको भन्दै ओलीले भने– ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो । सञ्चार माध्यम लेखिराखेको छ, बोलिराखेको छ सेटिङ भयो भनेर ।’
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने टिप्पणीसमेत गरे ।