काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले गरेको मार्गदर्शनअनुरूप देशको समृद्धि र जनताको सुख, राष्ट्रिय आकांक्षा प्राप्तिका लागि विकासको गतिलाई तीब्रता दिन सबैले नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
आइतबार सातौं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै ओलीले संविधानले मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभएर लोकतन्त्रप्रतिको हाम्रो अविचल निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको बताएका छन् ।
शुभकामना सन्देशमा भनेका छन्, ‘सात दशकको निरन्तर राजनीतिक संघर्ष र बलिदानको प्रतिफलस्वरूप जनताद्वारा निर्वाचित संविधानसभाले २०७२ साल असोज ३ गते जारी गरेको नेपालको संविधानप्रति आज हामी सम्मान व्यक्त गरिरहेका छौँ ।’ उनले राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानूनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको बताएका छन् ।
‘सबैलाई समान अधिकार, अवसरमा समान पहुँच, समानताको प्रत्याभूति, सामाजिक न्याय र सुरक्षा एवं सम्मानको ग्यारेन्टी सहितको परिपूर्ण लोकतन्त्र हाम्रो परिकल्पना र कार्यक्रमको सार हो’ सन्देशमा भनिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले अथक मेहनतसाथ चालेका कदमले मुलुकमा विकास र समृद्धिको नयाँ आधारशीला खडा गरेको छ । अहिले नेकपा (एमाले)को भूमिका सत्तापक्षबाट प्रतिपक्षमा बदलिएको छ ।’
जनताको बलिदानी संघर्षबाट प्राप्त यस संविधान जारी हुँदाका समयमा संविधानप्रति फरक मत राख्ने राजनीतिक दल एवं समूहहरू पनि नेकपा (एमाले)को नेतृत्वको सरकारले गरेका प्रयासका कारण राजनीतिको मूल प्रवाहमा सामेल भइसकेका स्मरण गर्दै उनले भनेका छन्, ‘पृथकतावादको अभियान र राजनीतिक शक्ति प्राप्त गर्न हिंसाको नीति अवलम्बन गरेका शक्तिहरुलाई पनि हामीले संवैधानिक प्रवन्ध अनुरुपको अभ्यासमा सामेल गर्ने सफलता प्राप्त गरेका छौँ ।’
एमालेले नेतृत्व गरेकै सरकारले राष्ट्रिय सहमतिद्वारा संविधान संशोधन गरी कालापानी–लिपुलेक–लिम्पियाधुरा सहितको भूगोल नेपालको मानचित्रमा समावेश गरेको बताएका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति यस अवसरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । विभिन्न राजनीतिक आन्दोलनमा हामीलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति आदरभाव प्रकट गरेका छन् ।