पर्वत, १३ वैशाख । जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् ।
वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न शुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।
उक्त गाउँमा वर्षेनी चट्याङका कारण एकदेखि तीनसम्मको ज्यान जाने गरेको छ भने वर्षेनी धेरै पशुधनको समेत क्षति हुने गरेको स्थानीयवासी ठाकुर रसाइलीले जानकारी दिए । उनले भने, ‘हरेक वर्ष मानवीय क्षति नभएको वर्षनै हुँदैन ।’ उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचितसमेत रहेको छ । विशेषगरी फागुनदेखि जेठसम्म बढी घटना घट्ने गरेका छन् । अहिलेसम्म झण्डै २० को चट्याङका कारण मृत्यु भइसकेको छ भने घाइतेको संख्या त्यति नै छ ।
स्थानीय जीतबहादुर विकका अनुसार आकाशमा मेघगर्जन शुरु भएपछि घर वरिपरि मदिरा छर्केर भित्र बस्ने चलनसमेत रहेको छ । मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यताका आधारमा मदिरा छर्कने गरेका छौँ, उनले भने, ‘मदिरा छर्केको दिन चट्याङ नपरेकाले विश्वास लिने गरेका छाँै ।’ दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँमा भूतप्रेत र दैवीशक्तिको पूजामा मदिरा चढाउने प्रचलन रहेको छ । उक्त मदिरा घर वरिपरि छर्केपछि दैवीप्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको हो, उनले भने ।
बाबुबाजेको पालादेखि नै यस्तै गर्ने प्रचलन भएर हामीले पनि मेघगर्जन शुरु भएपछि मदिरा चढाउने गरेका छाँै, विकले भने । अर्का वृद्ध धनबहादुर विश्वकर्माले चट्याङका कारण गाउँमा ठूलो समस्या भएको बताए । एउटै गाउँमा वर्षेनी चट्याङ पर्नुको कारण पत्ता नलागेको बताउँदै उनले फलामको धाऊ भएर हो वा अन्य कारणले हो भन्ने पत्ता लगाउन सके सुरक्षित हुन सकिने बताए । झण्डै ८० वर्ष अघिसम्म उक्त स्थानमा रहेको फलामखानीबाट फलाम निकाल्ने गरिन्थ्यो । अहिले भने उक्त खानी बन्द रहेको छ ।
समुद्री सतहदेखि दुई हजार फिटभन्दा उचाइमा रहेको उक्त गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँसमेत हो । पछिल्लो समय नेपाल टेलिकम र एनसेलको टावरसमेत निर्माण भएको उक्त गाउँमा चट्याङका घटना झनै बढ्न थालेको स्थानीयवासीले बताएका छन् । दिउँसोको समयमा मेघगर्जन भएमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ, स्थानीय बलबहादुर क्षेत्रीले बताए । उनले भने, ‘वर्षायामभन्दा हिउँदमा चट्याङ बढी पर्ने भएकाले स्थानीयवासी समस्यामा पर्ने गरेका छन् ।’
वर्षेनी चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि कुनै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुन नसकेको स्थानीयवासीको गुनासो छ । यस्तो प्राकृतिक विपत्तिमा पर्नेलाई राज्यले क्षतिपूर्तिसमेत निकै न्यून दिने गरेको पीडितको गुनासो छ । वर्षेनी चट्याङको पीडा खेप्न नसकेको गाउँका झण्डै एक दर्जन परिवार बसाइँसराइसमेत गरेका छन् । उनीहरु बसाइँ सरेर स्याङ्जा, पोखरा र नजिकै रहेको स्याङ्जाको घण्टेदेउराली बजारमा गएको स्थानीय रनबहादुर परियारले बताए । रासस