काठमाडौं । सोमबार (आज)देखि सर्वसाधारणले दसैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दसैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले जानकारी दिए ।
प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गरिने उनले बताए । राष्ट्र बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्दै आए पनि कोरोना महामारीका कारण गत वर्ष भने वितरण गरेको थिएन ।
यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो । कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराउन थालेको हो ।
राष्ट्र बैंकका अनुसार विगतमा सुकिलो नोट पनि वितरण गरेकोमा यो वर्ष नयाँ नोट नयाँ नै वितरण गरेको हो ।