काठमाडौं । संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।
संघीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालका अनुसार केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिएका हो ।
२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।
प्रहरीले यसअघि नै घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई पक्राउ गरिसकेको थियो । अन्य केही व्यक्तिहरू माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।