काठमाडौं । रत्नपार्कमा बसेर बाँडेजस्तो सरकारले ह्वारह्वार पदक वितरण गरेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
मंगलबार रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दूल’ नामको पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो वर्ष अहिलेसम्मकै धेरै पदकहरु वितरण गरिएको बताएका हुन् ।
‘अस्तिको दिन वितरण गरेको जस्तो पदकहरु हामीले वितरण गरेको भए, बा बा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, कसले खारेज गर्ने? बहस गर्ने वकिललाई पनि वितरण गरिएको छ, कसले बहस गर्ने? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरिदिएको छ । ती पनि चुपचाप र दंग। कसले बोल्ने ?’
ओलीले पदक वितरण गरेर सबैतिर ढ्याकढ्याक्ती ढोका थुनिएको बताए। ‘कतैबाट आवाज नआओस्। कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबै कुरा अन्धकार अन्धकारमा चलाउने । विरोधी नै रहेनन्, हामीलाई कुनै टाउको दुखेको होइन । यति धेरै पदकहरु त कहिले पनि बाँडिएको थिएन होला, रत्नपार्कमा बसेर वितरण गरेजस्तै छ ह्वारह्वार ’ उनले भने ।
आफू प्रधानमन्त्री भएको बेलामा यसरी पदक वितरण गरिएको भए बुद्धिजीवीहरु, नागरिक समाजले के भन्थ्यो भन्दै अहिले भने सबै चुपचाप बसेको बताए । उनले भने, ‘म प्रधानमन्त्री भएको बेला यसरी गरेको भए के हुन्थ्यो ? नागरिक समाज के भन्थ्यो ? अहिले सबै चुपचाप ।’