काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोप लगाएका छन् ।
मंगलबार अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरिरहेको उनले बताएका हुन् । अध्यक्ष ओलीले त्यसको
प्रतिवादमा उत्रन पनि अनेरास्ववियूलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरुले भण्डाफोर गर्नु पर्छ । र मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढङ्गले बाँच्न चाहन्छ । एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् ।’
अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले पनि बताए । उनले भने, ‘शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस भन्ने जनता चाहन्छ । शान्तिपूर्ण ढङ्गले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन । जनता भोलि प्रतिवादमा निस्कन्छ । अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन । सबै चुप लागेर मूकदर्शक भएर हेर्छन् ।’