काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्दै पौडेल समूहले पार्टी सभापति एवं प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्मा आफ्नो समूहको भाग खेजेको छ ।
बुधबार महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल समूहको बैठकले मन्त्रिपरिषद्मा आफ्नो समूहले भागबारे प्रश्न उठाएको हो । प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा नारायण खड्कालाई नियुक्त गरेपछि पौडेल समूह छलफल जुटेकाे थियाे ।
बैठकपछि केन्द्रीय सदस्य बलबहादुर केसीले भने, ‘मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित गृह, कानुन, स्वास्थ्य र परराष्ट्र मन्त्रालय कांग्रेसले लिइसक्यो । खास कांग्रेसले पाउने मन्त्रालयको संख्या कति हो ? त्यसमा हाम्रो समूहको भाग कति हो ? त्यही मुख्य प्रश्न हो ।’
प्रधानमन्त्री देउवाले आफ्नोतर्फका सांसदहरुलाई व्यक्तिगत रुपमा चयन गरेर समेत मन्त्री बनाउने र खेलबाड गर्ने कोसिस गरेको भन्दै पौडेल समूहले एकताबद्ध भएर सामूहिक रुपमा भाग लिने विषयमा जोड दिनेसमेत निर्णय गरेको छ ।
‘प्रधानमन्त्रीले हाम्रो समूहभित्र खेल्न मिल्दैन । हाम्रो समूहले पाउने कति हो ? त्यसमा हामी आफैंले समूहगत रुपमा मन्त्रीको नाम सिफारिस गर्ने र त्यसमा नेताहरुबीच एकताबद्ध भएर प्रस्तुत हुने निर्णय भएको छ,’ उनले भने ।
पौडेल समूहको बैठक सकिएपछि नेताहरु सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय गएका छन् ।