काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम गरिएको बताएका छन् ।
बुधबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोध गर्दै अध्यक्ष नेपालले जबजलाई कुरुप बनाउने काम गरिएको बताउँदै जबज मार्क्सवादकाे प्रयोगको एक अध्याय भएको बताएका हुन् । ‘न हामी जबजको देवत्वकरण, न त्यसको कुरुपीकरण । हामी जबजलाई विकसित गर्नेछौँ, त्यसलाई समृद्ध पार्ने छौँ’, नेपालले भने ।
नेपालमा मार्क्सवाद प्रयोगको प्रयासका प्रारम्भकर्ता पुष्पलालले नै मार्क्सवादकाे सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गरेको वताउँदै उनले जननेता मदन भण्डारीले जबजमा त्यसको सविस्तार व्याख्या गरेको बताए ।
एकीकृत समाजवादी पार्टी अग्रजहरूले प्रस्तुत गरेको मार्क्सवादकाे सिर्जनात्मक प्रयोग गर्ने विचारप्रति प्रतिबद्ध रहेको नेपालले बताए । ‘आजको परिस्थितिमा मार्क्सवाद प्रयोगका पुराना मोडेलको अनुकरण गरेर होइन मुलुकको विशिष्ट परिस्थिति अनुरूपको विचार अँगालेर क्रान्तिकारी व्यवहार गरियो भने मात्र सफलताका साथ अगाडि बढ्न सकिन्छ’ नेपालले भने ।
पार्टीका सम्पूर्ण सदस्यहरू मुलुकको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतत्वकासाथ अघि बढाउँदै नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्यहरू हासिल गर्न जनआधारित, सुसङ्गठित, एकताबद्ध, अनुशासित, गतिशील र जुझारु हुनेछन् र अग्रगामी राजनीतिक भूमिका निर्वाह गर्दै अघिबढ्न दृढ संकल्पित रहेको नेपालले जनाएका छन् ।
एकीकृत समाजवादी पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद नै रहेको उनले बताए । पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने मान्यता प्रति प्रतिबद्ध रहेको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी जनवादी क्रान्तिको चरण हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने उद्देश्य राखेर गरिएको उनले बताए ।
पार्टीले समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विभेदहरूको अन्त्य गरेर समानतासहितको स्वतन्त्रता र आम जनता सुखी एवं समृद्ध भएको समाज स्थापना गर्ने लक्ष्य उद्देश्य राखेको उनले बताए ।
लम्बियो बैठक
पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलबार र बुधबार केन्द्रीय कमिटी बैठक बस्ने बताइएको थियो । तर, छलफलको क्रम बढेसँगै बैठक लम्बिएको बताइएको छ । बैठक बिहिबार समेत बस्ने प्रवक्ता खतिवडाले बताए ।
बिहिबारको बैठकले पार्टीको महासचिव, स्थायी कमिटी विस्तार, पोलिटव्यूरो कमिटी गठन लगायतका विषयमा टुंगो लगाउँने बताइएको छ । यस्तै पार्टीले सञ्चालन गर्ने अभियानको बारेमा समेत कार्यक्रम बनाउँने बारेमा बैठकमा छलफल हुनेछ ।