बनेपा । सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले चार जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगार तथा सीपमूलक मोबाइल मर्मत तालीम काभ्रेपलाञ्चोकको धुलिखेलमा शुरु गरेको छ ।
विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले सीप सिकेर जीवनयापन सहज होस भनेर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रत्येक जिल्लाबाट पाँच÷पाँच गरी २० जनालाई सो तालीम आयोजना गरिएको हो । प्रदेशसभा सदस्य चन्द्र लामाले शुक्रबार सो तालीमको उदघाट्न गर्दै व्यक्ति सक्षम हुनका लागि बजारमा बिक्ने किसिमको तालीम दिन र लिन आवश्यक भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख इन्दिरा ओझाले सीप सिकेर परिवर्तन ल्याउन सकून् भन्ने उद्देश्यले मन्त्रालयले तालीम आयोजना गरेको बताउनुभयो ।
व्यावसायिक तथा सीप विकास तालीम केन्द्र प्रदेश नं ३ हेटाँैडाका प्रमुख युवराज गुरुङले दशतिर धाएर प्रमाणपत्र थुपार्ने भन्दा पनि सीप सिकेर व्यावसायिक बन्न आवश्यक भएको धारणा राख्नुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नं ३ का अध्यक्ष आश्विन लम्सालले व्यावसायिक तथा स्वरोजगार तालीमसँगै हरेक क्षेत्रमा अपाङ्मैत्री भवन र कार्यालयको ब्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
सहभागी सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ छापका विनोद श्रेष्ठले पहिला पनि मोबाइल मर्मत तालीम लिएर काम गरेको भए पनि भूकम्पले क्षति पु¥याएपछि छाडेको र अहिले पुनः निरन्तरता दिनका लागि तालीममा सहभागी भएको बताउनुभयो । ‘हत्केलामा सीप थमाइ सिर्जनशील बनौँ, उद्यमशीलता, रोजगारी, आयआर्जनको दायरालाई फराकिलो बनाई जीवनस्तर समृद्ध पारौँ’ भन्ने नारासाथ शुरु तालीम तीन महीनासम्म चल्नेछ । (रासस)