काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि युवाहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
एकीकृत समाजवादी पार्टी निकटको युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले युवा नेताहरुलाई पार्टीले विशेष जिम्मेवारी दिने बताए । अहिलेको युवा शक्ति र अनुभव प्राप्त पहिलो पुस्ताका नेताहरुले मिलेर मुलुकलाई समृद्ध बनाउन सक्ने उनले बताए ।
समाजको विकास र समृद्धितर्फ युवा नेताको सम्पुर्ण ध्यान हुनुपर्ने बताउँदै उनले दादागिरी र दलालीमा नलाग्न निर्देशन दिए । ‘कसैको सरुवा, बढुवा, यो मिलाउने, त्यो मिलाउने काममा तपाईहरुलाई नलाग्न पार्टी अध्यक्षको नाताले निर्देशन छ । कोही कोही यस्तै दलाली र दादागिरीमा लाग्दा उनीहरुको अवस्था कस्तो छ ? तपाईहरुलाई थाहा नै छ’ नेपालले भने ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गर्ने बताए । जबजको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे । उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर अघि बढनुपर्ने युवा नेताहरुलाई सुझाव दिए ।
‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मासात गर्न चाहन्छौँ । त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौँ । विश्वका विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरूमा एकसेएक नेताहरुको उदय भएको छ । उनीहरुको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रुपमा अगाडि बढेको छ’ उनले भने ।
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिनेसमेत बताए । उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुनुपर्ने बारेमा सचेत गराए ।
आज र भोली दुई दिनसम्म चल्ने सचिवालय बैठकमा अध्यक्ष नरेश शाहीले राजनीतिक प्रतिवेदन र महासचिव उदय जिएमले सांगठनिक प्रदिवेदन पेश गर्नेछन् । सो प्रतिवेदनमा समूहगत छलफल हुने संघका प्रवक्ता सन्जिप राईले बताए ।
सघको बैठकमा सगंठनको अहिलेको स्थिति, समसामयिक राजनीति परिस्थितिबारे छलफल गर्दै संगठनको कार्ययोजना र अभियान बारेमा समेत छलफल हुनेछ ।
सोही कार्यक्रमका बीचमा नयाँ शक्ति पार्टीका ५६ जना, एमालेका १३ जना र काँग्रेसबाट १४ जना युवाहरु युवा संघमा प्रवेश गरेका छन् ।