काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संशोधनसहित पारित दस्तावेजहरु प्रस्तुत गरिएको छैन् । गत आइतबार र सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले दस्तावेजहरु संशोधनसहित पारित गरिएको थियो । तर, आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा संशोधनसहित पारित दस्तावेजहरु प्रस्तुत नगरिएको एक केन्द्रीय सदस्यले बताए ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव एवं संगठन बिभाग प्रमुख बिष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।
यि तीन वटै दस्तावेजमा स्थायी कमिटी बैठकमा व्यापक छलफल गरी संशोधनसहित पारित गरिएको थियो । केन्द्रीय कमिटीको बैठकमा संशोधनसहित स्थायी कमिटीले पारित गरेको दस्तावेज पेश गर्नुपर्नेमा त्यसो नभएको एक केन्द्रीय सदस्यले बताए ।
स्थायी कमिटीले पारित गरेको दस्तावेज पेश नगरी पुरानै दस्तावेज किन पेश भएको हो भन्ने बारेमा बैठकमा चर्चासमेत भइरहेको छ । पुरानै दस्तावेज पेश भएपछि सोको बारेमा अध्यक्ष ओलीले बैठकलाई जानकारी गराउने बताइएको छ ।