पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानवमूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन् । म्याग्दीमै पहिलोपटक सो गाउँपालिकाका किसानले मानवमूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रासायनिक मलभन्दा मानवमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् ।
अर्मनकी किसान देवकुमारी सापकोटाले गाउँमा पशुचौपाया पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिकस्थलमा पिसाब सङ्कलन गरी बालीमा हाल्न थालेको बताए । ‘घरमै पिसाब संकलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालीमबाट पाएका छौँ’, उनले भने, ‘गाईभैँसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो ।’
गाउँपालिकाले प्रांगारिक खेतीलाई विशेष प्राथमिकतामा राखेको छ भने विद्यालय र सार्वजनिक स्थानमा मानवमूत्र संकलनका लागि प्लाष्टिकको ग्यालिन (जर्किन) राखेको छ । शौचालयमा मूत्र विर्सजन गर्नुका साटो स्थानीय र बटुवालेसमेत जर्किन (ग्यालिन) गर्ने गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
२०७५ मङ्सिरबाट घर–घरमा पिसाब संकलन गरिएको र बोटबिरुवा तथा तरकारीमा हाल्ने गरिएको स्थानीय किसान मनप्रसाद कँडेलले बताउनुभयो । गाउँपालिकाका कृषि प्राविधिक जगत् बानियाँका अनुसार अगुवा किसानलाई कृषि बालीमा मानवमूत्रसम्बन्धी पाँचदिने तालीम दिइसकेको बताए ।
‘मानवमूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुनेरहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो’, उनले भने, ‘हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालीम दियौँ, किसान हौसिएका छन् ।’
उनका अनुसार एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महीनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुआतमा स्थानीयवासीले जर्किन वा ड्रममा पिसाव संकलन गरेका छन् । एक लिटर पिसाबमा तीन लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्न सकिने उनले बताए ।
प्राविधिक बानियाँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिकमलभन्दा धेरै गुणा राम्रो हुन्छ । घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिकस्थलमा मावनमूत्र संकलन गर्दा राम्रो हुने उनले बताए ।
विद्यालयमा संकलन गर्न सकेमा तरकारीमा हाल्न सकिने र बिक्रीसमेत गर्न सकिने भएकाले निकै प्रभावकारी हुने उनले बताए । ‘हामीले मानवमूत्रलाई खेर जाने वस्तु भनेर खासै वास्ता गर्दैनौँ । तर, त्यही चिज राम्रो मल हुन्छ भन्ने बुझेका छैनौँ’, उनले भने । स्याङजा, लमजुङ, म्याग्दी, बागलुङलगायत जिल्लामा मानव मलमूत्रबाट राम्रो उत्पादन भइरहेको उनले बताए ।