काठमाडौं । लामो समय माधवकुमार नेपालसँग रहँदै आएका र पार्टी विभाजन भएपछि नेकपा एमालेमै बसेका तेस्रो धारले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले
१० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले एकता प्रस्तावको अक्षरस पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने बताएका छन् । शुक्रबारको एमाले बैठकमा तीनवटा दस्तावेजमा समूहगत छलफल गर्न आठवटा समूह बनाइएको छ । तर तेस्रो धारको एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट भएको छैन ।
तेस्रो धार नामको समूह बनाएर १० बुँदे सहमतिको आधारमा एमालेमै रहने निर्णयमा पुगेका नेताहरूले अहिलेसम्म केही जिम्मेवारी पाएका छैनन् । एमाले विभाजन नहुँदै आन्तरिक द्वन्द्व समाधान गर्न बनेको कार्यदलले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव तयार पारेको थियो । उक्त प्रस्ताव कार्यान्वयन हुँदा एमाले २ जेठ २०७५ पुग्नुपर्ने हुन्छ ।
पार्टी त्यो विन्दुमा पुग्दा नवौं महाधिवेशनमार्फत निर्वाचितले पाएको जिम्मेवारी यथावत् रहनुपर्ने हुन्छ । तेस्रो धार एमालेमै रहने भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच पार्टीलाई २ जेठ २०७५ कै अवस्थाबाट अघि बढाउने सहमति भएको थियो । तर, अध्यक्ष ओली अहिले १० बुँदे कार्यान्वयनको पक्षमा छैनन् । त्यसैले माधव छोडेर ओली रोजेका तेस्रो धारका नेता पेण्डुलम भएका छन् ।