Logo
Logo

बलेवामा नगर अस्पताल सञ्चालन


315
Shares

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।

बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रबार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे । तत्काल पुरान संरचनामा अस्पताल सञ्चालन गरिएको छ । “एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौँ, जनशक्ति समेत थप्ने योजना छ”, पौडेलले भने, स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि नौ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन रु १८ करोड बजेट बिनियोजन गरिएको छ ।

‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । हाल यहाँ सनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झण्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

“सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग सङ्कलन समेत भइरहेको छ”, उनले भने । रोजगारका लागि विदेशमा रहेकाहरुले समेत अस्पताल निर्माणका लागि सहयोग गर्न थालेको पौडेल बताउनुहुन्छ । भरपर्दो अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा, पोखरालगायतका ठाउँ जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्