काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए । उनले ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप पनि लगाए ।
अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको दाबी गरे । उनले, ‘केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागे । त्यसैले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गर्नुपर्यो ।’