काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिएका छन् ।
माओवादी केन्द्र शुक्ला गण्डकी नगरपालिका–१२ ले लामागाउँमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै नेपालको विकास र समृद्धि सम्भव रहेको उल्लेख गरे।
भ्रष्टाचार र कमिशनले देश ध्वस्त भएको उल्लेख गर्दै गुरुङले भने, ‘भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भइरहेको छ, यसलाई न्यूनीकरण गर्नुपर्छ ।’
हरेक कुरामा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी हुनुपर्ने टिप्पणी गरे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, केन्द्रीय सदस्य आशा कोइराला, शुक्लागण्डकी नगर कमिटीका सचिव मनराज गुरुङलगायतले माओवादी सङ्गठन सुदृढीकरण गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने जिकिर गरे ।