काठमाडौं । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा संक्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए ।
संक्रमणका कारण मृत्यु हुनेहरूमा खोप लगाएकाको संख्या पनि निकै कम छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार असोज ७ मा संक्रमणका कारण १३ जनाको मृत्यु भएको थियो । जसमध्ये एक जना पनि खोप लगाएका संक्रमित थिएनन् ।
‘कोभिडको दोस्रो लहर उत्कर्षमा पुगेका बेला अस्पतालमा भर्ना हुने अधिकांशले खोप नलगाएका थिए,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका डा. अच्युत कार्कीले भने, ‘हाल वीरमा भर्ना हुन आउने संक्रमितमध्ये करिब ६० प्रतिशत खोप नलगाएका र अरू खोप लगाएका होलान् ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।