काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । उक्त आइपीओमा असोज ६ गतेदेखि निष्कासन तथा विक्री खुला भएको थियो ।
कम्पनीको आईपीओमा शुक्रवार २ बजेसम्म १७ लाख १६ हजार जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त समयसम्म २ करोड ४६ लाख कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणको लागि माग गरेभन्दा ३ दशमलव ८१ गुणा बढी हो ।
उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै आज अर्थात् आइतवार निष्कासन बन्द हुने भएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यलयबाट र मेरो शेयर मार्फत अनलाइनबाट शेयर भर्न सक्नेछन् ।