काठमाडौं । नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । सभापति शेरबहादुर देउवाले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गरेको हो ।
निर्वाचन समितिले सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको जनाएको छ ।
क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन रोकिएको थियो । भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन । अब क्रियाशील सूची आएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ ।
कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन । प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन ।
निर्वाचन समितिका एक सदस्यका अनुसार सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुनेछ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले पटकपटक सहमति गरी क्रियाशील सदस्यता विवाद मिलाइरहेका छन् ।
शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले छिट्टै क्रियाशील सदस्यताको सूची प्रकाशित गरेर दसैंअगाडि नै वडा र गाउँरनगर अधिवेशन गर्ने निर्णय गरेको थियो । साथै वडा अधिवेशन भएका जिल्लाहरूमा गाउँरनगर अधिवेशन भएका छन् । शनिबारदेखि गाउँ/नगर अधिवेशन भएका हुन्।
२१ वटा हिमाली जिल्लामा कांग्रेसले प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र हुँदै असोज १८ भित्र जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । बाँकी जिल्लामा भने दसैंलगत्तै अधिवेशन हुने बताइएको छ ।