काठमाडौं । आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने जनाइएको छ ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो शेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।