काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज बिहान ११ बजे बस्ने बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुँदै छ ।
यसअघि तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन वटा प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो ।
छलफलबाट धेरैजसोको सुझाव ७ जना उपाध्यक्ष राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए ।
आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले उक्त सुझावलाई ग्रहण गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गरेर टुंग्याउने निर्णय गरेको थियो ।
त्यस्तै बैठकमा उठेको १० बुँदे कार्यान्वयनबारेको विषयमा पनि छलफल हुनेछ । विशेष गरी उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले १० बुँदेको कार्यान्वयन समानरुपमा हुन नसकेको बताएका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटी बैठक राखेर छलफल गर्ने बताएका थिए ।