Logo
Logo

ओलीको गुनासो- ‘संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुप लागे’


1.2k
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको भन्दै गुनासो गरेका छन् ।

बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सञ्चार माध्यमले खबरदारी नगर्दा सरकार लापरवाह भएको आरोप लगाए । ‘संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखियो’ उनले भने ।

सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको आरोप लगाउदै उनले भने, ‘म प्रधानमन्त्री हुँदा सम्पादकहरूबाट जुन सहयोग पाएँ, म त्यसका लागि धन्यवाद भन्न चाहन्छु । यहाँहरूले सजग गराउनुभयो, खबरदारी गर्नुभयो, ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो ।’

वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै उनले भने, ‘एमाले फुटाउने काम सकिएछ अनि अध्यादेश फिर्ताको सूचना निकालियो । खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’

ओलीले सञ्चार माध्यमसँग आफ्नो उद्देश्य मिल्ने भन्दै कहिँ समस्या भए समाधान गर्नुपर्ने बताए । ‘प्रेस र मेरो उद्देश्य समान छ– लोकतन्त्र सुदृढीकरण । कहिँ खटपट छ भने अब त्यो सकिनुपर्छ’ उनले भने ।

ओलीले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । सरकारले २ भदौमा संसदीय दल वा पार्टीको केन्द्री समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेश अनुसार नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भयो भने जनता समाजवादी पार्टी नेपाल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । उक्त अध्यादेश सरकारले सोमबार भने खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्