काठमाडौं । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको छैन । त्यसको मारमा लगानीकर्ता परेका छन् । झण्डै साना ठूला क्षमताका गरी सात हजार मेगावाटको हाराहारीका आयोजना सम्झौताको प्रतीक्षामा छन् ।
नदी प्रवाही आयोजनाबाट तोकिएभन्दा बढी सम्झौता भइसकेको भन्दै प्राधिरकणले कुनै पनि आयोजनाको पिपिए गरेको छैन । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई तत्काल पिपिएको मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ ।
महासङ्घको आग्रह सुनेपछि मन्त्री भुसालले बजारको सुनिश्चितताका आधारमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने बताइन् । उनले माग र आपूर्तिको सन्तुलन अध्ययन गरेरमात्र सम्झौतालाई अगाडि बढाउने स्पष्ट पारिन् ।
उनले भनिन्, ‘वस्तुगत आधार तयार नभई पिपिए गर्ने अवस्था छैन । जलविद्युत् उत्पादनका लागि स्वदेशी लगानी सकारात्मक रहेको उल्लेख गर्दै उहाँले उद्योग वाणिज्य महासङ्घले आयोजना निर्माण गर्ने विषयमा हामी सकारात्मक छौँ ।’
मन्त्री भुसालले बढी बिजुली खपत गर्ने उद्योग स्थापना गर्न र त्यस्ता उद्योगलाई भित्र्याउन महासङ्घले पहल गर्नुपर्नेमा जोड दिइन् ।
उद्योगी तथा व्यवसायीले मागेको स्थानमा विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, ‘पूर्वाधार छिटो सम्पन्न गरेर मागेका स्थानमा हामी विद्युत् पु¥याउँछौँ ।’
विद्युत् खपतका विषयमा वस्तुगत भएर सोच्ने समय आएको उल्लेख गर्दै मन्त्री भुसालले कृषि, सिँचाइ एवं अन्य क्षेत्रमा कसरी विद्युत् खपत गर्न सकिन्छ भन्ने विषयलाई विशेष ध्यान दिने बताइन् ।