काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासङ्घका पदाधिकारीले आज बिहान (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । महासङ्घले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चार माध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्नेमा जोड दिएको छ ।
सोही अवसरमा अध्यक्ष प्रचण्डले संविधानसभा, गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलागयतका मुद्दामा पत्रकार महासङ्घ र आम प्रेस जगत्ले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेस अनुकूल नै भएको बताउँदै महासङ्घले उठाएका सवाललाई पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घले राखेको ध्यानाकर्षण पत्रले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को धारणालाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।
यसैगरी सभापति देउवाले प्रेस स्वतन्त्रताका लागि नेपाली काङ्ग्रेस विगत लामो समयदेखि लड्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत महासङ्घसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
(रासस)