Logo
Logo

चार युट्युबर प्रहरीको खोरमा


13.6k
Shares

काठमाडौं । महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको आरोपमा चार जना युट्युबर पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको भन्दै चार जना युट्युब च्यानलका सञ्चालकहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङको तुलसी उपमहानगरपालिका-१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, नुवकोटको सुर्यगढी गाउँपालिका-२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, मोरङको बेलबारी-९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र दोलखा मेलुङ गाउँपालिका-४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

उनीहरूलाई एक पीडित महिलाको उजुरीका आधारमा पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

उनीहरुले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब च्यानलहरूमा समेत कार्यक्रम उत्पादन तथा पुन उत्पादन गरी ललितपुरकी एक महिलाको चरित्र हत्या गरेको प्रवक्ता अर्यालले बताए ।

प्रहरीका अनुसार पीडित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान तथा ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको चरित्र हत्या हुने सामाग्री प्रसारण गरिएको थियो । प्रसारित सामाग्रीमा महिलाको वास्तविक नाम तथा तस्विरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।

चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतनको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्