काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सङ्घीय संसद्को चौथो अधिवेशनलाई उपलब्धिमूलक र ऐतिहासिक बनाउन रचनात्मक ढङ्गबाट सरकारको आलोचना गर्न अपील गर्नुभएको छ । सोमबारदेखि शुरु हुने संसदको अधिवेशनको तयारी र कार्यसूची पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले गरेका काम कारवाहीबारे प्रश्न उठाउने, आलोचना र बहस गर्ने थलो भएकाले त्यसका लागि आफूले वातावरण बनाउने जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा सोमबार अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । तराई मधेश आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सम्वन्धमा राष्ट्रिय जनता पार्टीलगायतका दलले उठाउँदै आएका विषयका सम्वन्धमा सम्वन्धित दलसँग भोलि छलफल गर्ने पनि सभामुख महराले जानकारी दिनुभयो ।
चौथो अधिवेशनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भएको सभामुख महराले जानकारी दिनुभयो । वर्षे अधिवेशनका रुपमा रहने संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्नुहुनेछ ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा वैठक सञ्चालन गर्ने टोलीको घोषणा गर्ने प्रारम्भिक कार्यसूची रहेको पनि सभामुखले जानकारी दिनुभयो । सोमबारकै दुवै सदनका वैठकमा २०६४ सालका संविधानसभाका सदस्य दिवाकर गोल्छा, २०४८ सालमा गुल्मीबाट निर्वाचित सासद रुद्रमणि शर्मा भण्डारी र २०४८ र ५६ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित रामकृष्ण ताम्राकारको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।
पहिलो दिनको बैठकमा प्रमुख दलका नेताको मन्तव्य हो वा नहुने भन्नेबारे सोमबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्नेछ । वैशाख २० गते सदन मार्फत सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । त्यसपछि उक्त नीति तथा कार्यक्रममाथि छलफल चल्नेछ ।
उक्त नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्रीबाट जवाफ आएपछि पारित हुनेछ । त्यसको लगत्तै पूर्वबजेट छलफल हुनेछ भने संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ । बजेट प्रस्तुत भएपछि त्यसमाथि सैद्धान्तिक छलफल र विनियोजन विधेयकमाथिको छलफल चल्नेछ ।(रासस)