जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ ।
वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ ।
थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको छ । ‘माथि ठूलाठूला भवन छन्, तल सडक भत्कँदैछ’, स्थानीयवासी रेशम खड्काले भने, ‘हप्ता दिन बित्दासम्म किन सडक मर्मततर्फ ध्यान दिइएको छैन, गाउँमा ल्याइने खाद्यान्नलगायत सामग्री सडक नहुँदा ल्याउन सकिएको छैन ।’
पूर्वी जाजरकोट, डोल्पा र रुकुम पश्चिममा यातायातका साधन वैकल्पिकरूपमा चलाउनका लागि प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको सहजीकरणमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मत गरी पासागाड–कालेगाउँ सडक सञ्चालन गरिएको छ ।
मथिल्लो बाटो भएर जाजरकोट डोल्पा, रुकुमपश्चिम जाने स्थानीयवासी मात्र नभई सदरमुकामबाट सामग्री ढुवानीमा समेत गाह्रो हुँदै आएको छ । भौतिक पूर्वाधार विकास कार्यालय, सडक डिभिजनको सहयोगमा भेरी नगरपालिकाले सो सडक निर्माण गर्ने भनिए पनि अहिलेसम्म सुरु गरिएको छैन ।
सदरमुकाममै हप्ता दिनदेखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण मर्कामा परेका छन् । यो सडक दिगो बनाउनका लागि ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताए । पछिल्लो समय खलङ्गा सदरमुकाम नै नहुने ठाउँमा बनाएको भन्दै चर्चा हुन थालेको छ ।