काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री र सभामुखले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले संसदमा देखिएको समस्या समाधानका लागि
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्ष ओलीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताएका हुन् ।
नेता भट्टराईले एमाले सिधा संवादका जहिले पनि तयार भएको पनि बताए । उनले भने, ‘अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साँच्ची राखेर हामीसँग उहाँले बस गर्नुपर्दैन, त्यो जरुरी हामी ठान्दैनौं, सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैं तयार छौँ ।’
आज प्रधानमन्त्री देउवाले सर्वदलिय बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले भने उक्त बैठकको बहिस्कार गरेका थिए ।