Logo
Logo

प्रतिक्रियावादी विरुद्धको लडाइमा क्रान्तिकारीको जित भयो : प्रचण्ड


882
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी विरुद्धको लडाइमा क्रान्तिकारीहरूको जित भएको बताएका छन् ।

माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गत ५ पुसमा भएको संसद विघटन मात्रै नभएर प्राप्त उपलब्धि र संविधान समेत नष्ट गर्ने अभिप्रायले गरिएको बताए ।

‘प्रतिनिधिसभाको २०७७ पुस ५ को विघटनपछि आफ्नो अगाडि तत्कालीन प्रधानमन्त्री र नेकपाका अध्यक्ष केपी शर्मा ओली अगाडि आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प मात्र थिए’ प्रचण्डले भने ।

प्रतिनिधिसभा विघटन गर्ने र संविधान तथा लोकतन्त्रलाई सखाप पार्ने योजनामा ओली अगाडी बढेको उनले बताए । आफूहरूले व्यवस्थाको रक्षाका लागि संघर्षको बाटो रोजेको उनले बताए ।

अध्यक्ष प्रचण्डले भगतसिंहको फिल्मको उदाहारण दिँदै मारिनुपर्ने भएपनि मारिने भन्ने संकल्प गरेर सडक आन्दोलन सुरु गरेको बताउँदै भने, ‘त्यसबेला मेरो अगाडि पनि ठूलो प्रश्न खडा भयो । लडाई गर्ने कि छोड्ने भन्ने ।’

उनले सडकमा आएपछि आनन्द भएको भन्दै देशव्यापी अभियानमा लाग्दा पदप्रति आशक्तहरू पनि सडकमा आएको बताए । माइतीघर मण्डलाको कालोपत्रे सडकमा पलेटी कसेर गरेको आन्दोलन स्मरण गर्दै प्रचण्डले त्यसपछि आन्दोलनले नयाँ उचाइ पाएको बताए ।

सत्ताबाट सडकमा पुग्दा कार्यकर्ताले सहयोग गर्ने हो कि होइन भन्ने अवस्थामा आफूहरू पुसको चिसोमा पनि सडकमा आएको उनले बताए ।

आफुहरुले सोचेजस्तो क्रान्ति पुरा नभएपनि त्याग र बलिदान खेर नगएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकै कारण राजतन्त्र गएर संघीयता आएको बताए । परिवर्तन जनताको सहभागिता विना सफल नहुने बताउदै उनले भने, ‘ठुलो परिवर्तनको बाहक र युगिन परिवर्तन ल्याउने कारण चाहिँ हामी भयौं ।’

उनले पार्टीमा क्रान्तिकारी चरित्र र कार्यशैलीमा ह्रास आएको भन्दै परिवर्तन जरुरी रहेको बताए ।

‘हामी पनि पद, प्रतिष्ठा, पैसा, कमिसनका निम्ती र दलाल नोकरशाहीप्रति नजिक हुने र घाइते, वेपत्ता, सहिद परिवारप्रति वेवास्ता गर्ने प्रवृत्ति बढ्यो’ अध्यक्ष प्रचण्डले भने, ‘नेतृत्वमा जो पुग्यो त्यो अवसरवादी, मैले धेरै मन्त्री बनाए ती पतन भए ।’

उनले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने सम्भावना अझै रहेकाले त्यसतर्फ लाग्न युवा विधार्थी नेतालाई अपिल गरेका छन् ।

पछिल्लो समय माओवादी नेताहरू बिग्रिन लागेको भन्ने अभिव्यक्ति पनि दाहालले दिएका छन् । ‘हामी बिस्तारै–बिस्तारै, थाहै नपाइकन गएको १०–१५ वर्षयता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्