काठमाडौं । आज ज्येष्ठ नागरिक दिवस हो । देशभर यो दिवस मनाइरहँदा राज्यको तर्फबाट ज्येष्ठ नागरिकका लागि सेवा सुविधा वृद्धि हुँदै गए पनि सामाजिकस्तरमा भने उनीहरूप्रतिको सम्मानमा भने कमी हुँदै गएको पाइएको छ ।
अक्टोबर १ मा ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहँदा नेपालमा पनि आज विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ । गत डेढ दशकदेखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ । यद्यपि ‘बूढो भयो सब रङ्ग गयो, आँगन भयो परदेशी’ भनेझैं समाजमा असम्मान बढिरहेको छ ।
ज्येष्ठ नागरिकसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै आएको संस्था एजिङ नेपालका अनुसार पहिला एक महिनामा ज्येष्ठ नागरिकको बेवारिसे शव पाँचदेखि छवटा मात्र भेटिन्थ्यो अहिले सो सङ्ख्या बढेर २० देखि २५ पुगेको छ ।
एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले पछिल्लो समयमा ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार तीव्र रूपमा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन्, उहाँहरूको सीप र ज्ञानलाई राज्यले उचित सदुपयोग गरी समाजमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्च पाउने वातावरण बनाउने जिम्मेवारी घरपरिवार, समाज र सरकार सबैको हो ।”, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।