काठमाडौं । दशैं नजिकिएसँगै उपत्यकामा चोरी तथा लुटपाटका घटना बढ्न थालेका छन् । दिनमै ४–५ वटासम्म चोरी तथा लुटपाट हुन थालेको छ ।
तारकेश्वर नगरपालिका–६ धर्मस्थली ढकालटार बस्ने ५५ वर्षीय ईश्वर प्रसाद श्रेष्ठको घरमा पनि बिहीबार चोरी भएको छ । करिब ६ लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको विभिन्न सुनका गहना बिहीबार दिउँसो चोरी भएको हाे ।
उनको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाएर घरभित्र रहेको सुनका विभिन्न गहना चोरी भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्नहरुको खोजी गरिरहेको छ ।
त्यस्तै, शुक्रबार बिहानै सिक्रि लुटपाट भएको छ । काठमाडौं महानगरपालिका २६ सरकारी धारा बस्ने गोरखा अजिरकोट गाउँपालिका ४ घर भएका २६ वर्षीय अजय रेग्मीको १.५ तोलाको सुनको सिक्री र नगद ८ हजार रुपैयाँ टोखा नगरपालिका ९ गोँगबु शिवमन्दिर नजिकबाट बिहीबार बिहान लुटपाट भएको हो ।
उनले घाँटीमा लगाएको सुनको सिक्री र नगद अपरिचित ३ जनाले लुटी फरार भएको खबरपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।
ललितपुर प्रहरीले बिहीबार मात्र एक महिलासहित दुई पकेटमारलाई पक्राउ गरेको थियो ।
दशैंमा चोरी तथा लुटपाट सधैं बढी हुने गरेको छ । जसकारण सजग हुन प्रहरीले आग्रह गरेको छ । प्रहरीले यसविरुद्ध सक्रियता बढाएको छ ।