Logo
Logo

राजनीतिक परिवर्तनमा कम्युनिष्ट पार्टीको ‘निर्णायक र हस्तक्षेपकारी’ भूमिका : ओली


315
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राणा शासनको अन्त्यदेखी लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीमो निर्णायक र हस्तक्षेपकारी भूमिका रहेको बताएका छन् ।

ललितपुरको गोदावरीमा आजदेखि शुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको महत्वपुर्ण निर्णय र योगदानकै कारण यी परिवर्तन प्राप्त भएको उल्लेख गरेका छन् ।

नेपालका राजनीतिक परिवर्तनहरूमा एमाले बन्नु अघिको उसको माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीदेखि अहिलेको एमालेको निर्णायक र हस्तक्षेपकारी भूमिका रहँदै आएको ओलीले जनाएका छन् ।

२००७ सालको परिवर्तनको प्रसङ्ग उल्लेख गर्दै ओलीले राजनीतिक प्रतिवेदनमा भने, ‘दिल्ली सम्झौताले २००७ सालको आन्दोलनलाई बीचमै अवरुद्ध गर्यो । सम्झौतालाई स्वागत गरेर नेपाली कांग्रेस राणा नेतृत्वको सरकारमा सहभागी भए पनि नेपाल कम्युनिस्ट पार्टीलगायत देशभक्त शक्तिहरूले क्रान्तिलाई अघि बढाउने प्रयास गरे ।’

‘आन्दोलनको सहयात्री कम्युनिस्ट पार्टीमाथि नेपाली कांग्रेसले प्रतिबन्ध लगायो तर पार्टीले विभिन्न वैधानिक मोर्चा र जनसङ्गठनका माध्यमबाट आन्दोलन जारी राख्यो’ ओलीले भने ।

उनले नेपाल कम्युनिस्ट पार्टीले त्यसै बेलादेखि संविधानसभाका लागि आन्दोलन गरेको र देशको हित विपरीतका कार्यविरुद्ध संघर्ष जारी राखेको जनाएका छन् । २०४६ सालमा संयुक्त जनआन्दोलनमा कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

‘आन्दोलनलाई सामान्य सुधारमा सीमित राख्न चाहने नेपाली कांग्रेसको प्रयासलाई चिरेर पञ्चायती व्यवस्थाको समूल अन्त्य गर्न, बहुदलीय राजनीतिक प्रणाली सहितको संविधान निर्माण गर्न पार्टीले अग्रणी भूमिका खेल्यो’ उनले भने ।

ओलीले त्यसपछि १२ बुँदे सहमतिदेखि नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनाउँदा समेत एमालेको ‘निर्णायक र हस्तक्षेपकारी’ भूमिका खेलेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्