काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन आग्रह गरेका छन् ।
जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उनले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले एक अर्काको ज्ञानलाई माझ्न र साझा सहकार्यका आग्रह गरेका हुन् ।
उनले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्नुपर्ने पनि बताए ।
उनले आफूले तत्कालीन नेकपा (एमाले)सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको बताए । त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको उनको भनाइ छ ।
माओवादी आन्दोलनमा सहभागी सबै नेता तथा कार्यकर्ताहरू एक आपसमा मिलेर जाने प्रयास भइरहेको भन्दै उनले त्यसका लागि सकारात्मक वातावरण बनाउनसमेत सबैलाई अनुरोध गरे ।
आफूहरूले जनयुद्धको क्रममा क्रान्ति छल्छु भनेर कहिल्यै नसोचेको तर दुश्मनले अवरोध गरेको बाटो छल्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताउँदै उनले बताए ।