Logo
Logo
एमाले विधान महाधिवेशन

प्रस्तुत प्रस्तावमाथि छलफल गर्न १० समूह गठन


3.3k
Shares

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ ।

ललितपुरको गोदावरीमा आज (शुक्रबार)देखि शुरु भएको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।

उक्त प्रस्तावमाथि छलफल गर्न एमालेले १० वटा समूह बनाएको हो । समूहगत छलफलको सहजीकरणका लागि २० जना नेतालाई जिम्मेवारी तोकिएको छ । प्रतिवेदनमाथि शनिबार छलफल हुने छ ।

देशभरबाट गरी ६ हजार प्रतिनिधि सहभागी भएकाले प्रतिवेदनमाथि छलफलका लागि समूह गठन गरिएको एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । प्रतिबेदनमाथि शनिबार २ बजेसम्म समूहगत छलफल हुने र २ बजेपछि पूर्ण बैठकमा फर्किने ज्ञवालीले जानकारी दिए ।

समूह कको अध्यक्षता देवराज घिमिरेले गर्नेछन् । सहजीकरणका लागि भीम आचार्य र सुवास नेम्वाङ तोकिएका छन् । समूह खको अध्यक्षता ज्वाला साहलाई तोकिएका छ भने सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्नेछन् ।

समूह गको अध्यक्षता आनन्द पोखरेलले गर्नेछन् भने सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई दिइएको छ । समूह घको अध्यक्षता जगत विश्वकर्माले गर्दा सहजीकरण किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

समूह ङको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्दा समूह चको अध्यक्ष गोरखबहादुर बोगटी तथा सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेलले गर्नेछन् ।

यसैगरी उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरुका प्रतिनिधिहरुको समूहको अध्यक्षता सुजिता शाक्यले गर्नेछन् भने सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई तोकिएको छ ।

जनवर्गीय संगठनहरुबाट आएका प्रतिनिधिहरुको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तथा केन्द्रीय निकाय र आयोगहरुको समूहमा सहजीकरणको जिम्मा अमृत बोहोरा र पुष्प कँडेललाई दिइएको छ ।

सबै समूहलाई भोलि बिहान ८ बजे आउन र ४ घण्टा अर्थात् २ बजेसम्म छलफल गर्न समय दिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्