काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी रहेको छ । दोस्रो दिन शनिबार बिहान ८ बजेदेखी सुरु भएको महाधिवेशनमा समूहगत छलफल सकिएको छ ।
महाधिवेशनमा पेश भएको तीन वटै दस्तावेजमाथि समूहगत छलफल भर्खरै सकिएको महाधिवेशन प्रतिनिधि जवाहिर अंसारीले बताए । समूहगत छलफल सकिएको बताउँदै उनले अब समूहमा आएका सुझावहरु टोली नेताले पेश गर्ने कार्यक्रम रहेको बताए ।
२ बजेदेखी समूहगत छलफलमा आएका सुझाव पेश हुनेछ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । हिजो पेश भएको यि तीन वटै दस्तावेजमा बिभिन्न १० समूहमा छलफल भएको छ ।
१० समूह गठन गरी छलफल भएको र २० जना नेताले सहजीकरण गरेका छन् । महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधिहरु सहभागी रहेको एमाले सचिव योगेश भट्टराईले बताए ।