Logo
Logo

ओलीको जस्तो देवत्वकरण गैरकम्युनिष्ट चरित्र हो : बरिष्ठ नेता खनाल


3.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेको विधान महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरुको ज्याम्बोरी भएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष केपी ओली धुपौरे, हनुमान र रमितेहरू बटुलेर पञ्च र्याली गरेको खनालले टिप्पणी गरेका हुन् ।

‘गोदावरीमा एमालेको विशेष महाधिवेशन दक्षिणपन्थी अवसरवादको कुम्भमेला हो, ज्याम्बोरी हो । त्यहाँ संस्थागत रुपमा भइरहेको केपी ओलीको देवत्वकरण पेटी बुर्जुवा प्रवृत्ति हो । हाई हाई केपी, आई लभ केपीको जस्तो देवत्वकरण गैरकम्युनिष्ट चरित्र हो । यो सामन्ती संस्कृतिको प्रतिबिम्ब हो र राजा महाराजाको फोटोकपी हो । तिनलाई आफ्नो लक्ष्य, सिद्धान्त, आदर्शसँग मतलब छैन, गाली गर्न पाए पुग्यो । सच्चा कम्युनिस्ट त विधि, सिद्धान्त र नीतिनिष्ट पो हुन्छ’ खनालले भने ।

एमालेको दोस्रो र तेस्रो पुस्ताका नेताहरु ओलीको मूतको न्यानोमा निदाएको आरोप लगाउँदै उनले भने, ‘हिजो त ओलीविरुद्ध आवाज उठाउनेहरु थिए, अहिले ओलीको देवकत्वकरणसामू लज्जावती झारजस्तो मुर्झाएका छन् । एमालेमा अरुको भ्वाइस छैन, ओलीको मात्र भ्वाइस छ । उनले दुई तिहाइ बहुमत ध्वस्त पारेको कुरा कसैले उठाउँदैन । दुईदुई पटक संसद् विघटन गरेर लोकतन्त्रमाथि खतरा उत्पन्न गरे । अहिले संसद् चल्न दिएका छैनन्, त्यो भष्मासुरे शक्ति हो । यस्तो गुटको भविष्य छैन् ।’

ओलीले मदन भण्डारी फाउण्डेसनको नाममा देशैभरी गुट खडा गरेको आरोप लगाउँदै एमालेको पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ नेता खनालले भने, ‘हिजो ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट खडा गरेका थिए । नवौं महाधिवेशनमा त्यही गुटबन्दीले नेतृत्व कब्जा ग¥यो र पार्टीलाई दक्षिणपन्थी अवसरवादमा धकेलेर पठायो । पार्टीलाई गलत दिशामा हाँक्दै सरकार बनेपछि निरंकुशतावाद, सर्वसत्तावाद, व्यक्तिवाद र अहंकारवाद लागू गरे । ओलीले गुट बनाएकै त्यसका लागि हो । उनी आलोचकसँग सहकार्य गर्न सक्दैनन् । उनको ध्यान नै वरिपरि धुपौरे, हनुमान, एसम्यानहरु बटुल्नेमा छ । २०४६ सालको चैतमा पञ्चहरु पञ्च ¥याली गरिरहेका थिए । २६ गते त बहुदलीय घोषणा भयो । अहिले पनि धेरै जना रमिता हेर्न आएका हुन् ।’

अब ओली प्रवृत्तिलाई पराजित गर्नुपर्ने नेता खनालले बताए । उनले भने, ‘ओलीले जहिल्यै गुट मात्र बनाए । उनले कमिटी मानेनन्, विधि मानेनन् । न अध्यक्ष हुँदा न प्रधानमन्त्री हुँदा । उनी देशभित्रका प्रतिक्रियावादी र साम्राज्यवादीको सेवा गर्ने एजेन्ट हुन् । ओली भनेको तानाशाहको रुप हो । तर उनी सी जिनपिङ होइनन् । सीले सिंगै पार्टीलाई एकढिक्का गरे, १ अर्ब ४० करोड जनतालाई एकताबद्ध गरे, गरिबी उन्मूलन गरे । तर, केपीले त पार्टी, सचिवालय, स्थायी कमिटी केही पनि एकताबद्ध गर्न सकेनन् । पार्टी र कमिटी चलाउन नसक्ने मान्छेले के देश चलाउँछ ?’

एमाले विधान महाधिवेशनका तीन वटा दस्तावेज पढ्दा एमाले ‘भाइ कांग्रेस’ भएको टिप्पणी उनले गरेका छन् । ‘एमालेले माक्र्सवाद, लेनिनवाद छाड्यो । एमाले अब समाजवाद होइन, पुँजीवादतिर लागेको छ । उसको काम भनेको भ्रम फिँजाउने र प्रतिक्रियावादीलाई पोस्ने हो । अब उही संसद्वादमा फस्ने हो । एउटा चुनावदेखि अर्को चुनावबाहेक उसलाई अरु चिन्ता छैन्’ उनले भने ।

खनालले एमाले र नेकपा (एकीकृत समाजवादी)मा आधारभूतरुपमै भिन्नता भएको बताए । ‘हामीबीच आधारभूत रुपले भिन्नता छ । नेपाली समाजको वर्गविश्लेषण, नीति कार्यक्रम, कार्यदिशा, मार्गचित्र मिल्दैन । एमाले नेतामुखी छ, हामी नीतिमुखी छौं, एमाले एकल नेतृत्वमा विश्वास गर्छ, हामी सामूहिक नेतृत्वमा विश्वास गर्छौं । एमाले विकल्प देख्दैन, हामी विकल्पै विकल्प देख्छौं । एमाले र एकीकृत समाजवादी कालो र सेतो जस्तै भइसकेको छ’ उनले भने ।

केपी ओली सरकारले विगतमा ल्याएको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ आफूले नवौं महाधिवेशनमा ल्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्